बालेनलाई संसदमा कस्ता प्रश्न ? जवाफअघि नै बढ्यो चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्दैछन् । यसपटक प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तरलाई नियमित संसदीय कार्यक्रमभन्दा केही फरक ढंगले प्रस्तुत गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।

प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू संसद् सचिवालयमा दर्ता भइसकेका छन् । तर, ती प्रश्नमा के विषय उठाइएको छ भन्ने विवरण भने बैठक सुरु नहुँदासम्म सार्वजनिक नगरिने भएको छ । प्रश्नकर्ता सांसदहरूको नाम सार्वजनिक भए पनि प्रश्नको विषयवस्तु सञ्चारमाध्यम र सार्वजनिक रूपमा नल्याउने व्यवस्था गरिएको छ ।

यसको अर्थ बुधबार संसद्को बैठकमा प्रधानमन्त्रीले प्रश्न सुनेपछि मात्रै त्यसको पूर्ण आशय सार्वजनिक हुनेछ । संसद् सचिवालयले प्रश्नोत्तरलाई बढी जीवन्त र प्रत्यक्ष बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

यद्यपि, प्रश्नका विषयबारे केही संकेत भने बाहिर आएका छन् । राष्ट्रियता, सीमा, सरकारको कामकारबाही तथा सरकार सञ्चालनको शैलीसँग सम्बन्धित विषयमा सांसदहरूले प्रश्न दर्ता गराएका छन् । त्यसैले प्रधानमन्त्री बालेनका लागि बुधबारको प्रश्नोत्तर केवल औपचारिक जवाफ दिने कार्यक्रमभन्दा पनि राजनीतिक रूपमा चासोको विषय बनेको छ ।

प्रधानमन्त्रीसँग प्रश्न गर्न विभिन्न दलका सांसदहरूले नाम दर्ता गराएका छन् । हालसम्म ११ सांसदको नाम सार्वजनिक भएको छ । नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा बढीमा १५ सांसदले प्रश्न गर्न सक्ने भए पनि हालसम्म ११ जनाले मात्रै प्रश्न दर्ता गराएका छन् ।

प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्नेछ । यसअघि प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर विपक्षी दलहरूले समेत प्रश्न उठाउँदै आएका थिए । यस्तो अवस्थामा बुधबारको प्रश्नोत्तरमा सांसदहरूले सरकारका संवेदनशील विषयमा कति प्रत्यक्ष प्रश्न गर्छन् र प्रधानमन्त्रीले त्यसको जवाफ कसरी दिन्छन् भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।

विशेषगरी सीमा र राष्ट्रियतासँग जोडिएका प्रश्नले बुधबारको संसद् बैठकलाई थप अर्थपूर्ण बनाउने देखिएको छ । प्रश्न सार्वजनिक नगरिएकाले अहिले सांसदहरूले कुन विषयमा कस्तो जवाफ खोजेका छन् भन्ने अनुमान मात्रै भइरहेको छ । वास्तविक प्रश्न र प्रधानमन्त्रीको जवाफ भने सदनमै पहिलोपटक सार्वजनिक हुनेछ ।

यसरी प्रश्न लुकाएर राख्ने संसद् सचिवालयको व्यवस्थाले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई ‘सरप्राइज’ बनाएको छ । अब बुधबारको बैठकमा प्रश्नभन्दा पनि बालेनले ती प्रश्नको जवाफ कसरी दिन्छन् भन्ने विषयले बढी राजनीतिक चर्चा पाउने देखिएको छ ।

प्रतिक्रिया