धादिङ । तिहार मनाउन घर तथा गन्तव्यतर्फ हिँडेका यात्रुहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा पहिरो खसेपछि बाटोमै अलपत्र परेका छन्। मलेखु–मुग्लिङ सडकखण्डमा सोमबार राति ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको हो।
सोमबार राति करिब ११ बजे खसेको पहिरोका कारण मंगलबार बिहान ७ बजेसम्म पनि सडक खुल्न सकेको थिएन। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ।
तिहारको समयमा यात्रुको चाप बढिरहेका बेला राजमार्ग अवरुद्ध हुँदा घर फर्किने र गन्तव्यमा पुग्ने यात्रुहरू प्रभावित भएका छन्। पहिरो ठूलो भएकाले सडकबाट ढुंगा र माटो हटाउन समय लागेको हो।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ। केहीबेरमै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको योजनाले जनाएको छ।
यसअघि सोमबार पनि यही सडकखण्डमा पहिरो खसेर आवागमन प्रभावित भएको थियो। छोटो समयको अन्तरालमा पटक–पटक पहिरो खस्दा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सर्वसाधारणले थप कठिनाइ भोग्नुपरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार