काठमाडौं । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आइतबार (कात्तिक २२) लक्ष्मीपूजा धार्मिक विधिअनुसार श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। लक्ष्मीपूजाका अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।
धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा–आराधना गर्दै सर्वसाधारणले घर, पसल तथा व्यापारिक प्रतिष्ठानमा दीप प्रज्ज्वलन गरेका छन्। घरका मूलढोका, झ्याल, छत तथा आँगनमा रंगीचंगी बत्ती सजाइएपछि उपत्यकाका विभिन्न क्षेत्र आकर्षक र झिलिमिली देखिएका छन्।
लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीका पाइला अंकित गर्ने र फूलमालाले घर सजाउने परम्परालाई निरन्तरता दिइएको छ। साँझ परेसँगै काठमाडौंका सडक, बजार र बस्तीहरूमा बालिएका आकर्षक बत्तीले तिहारको रौनक थपिएको छ।
लक्ष्मीपूजाको अवसरमा उपत्यकाका घर तथा व्यापारिक प्रतिष्ठानहरूमा गरिएको झिलिमिली सजावटले तिहारको उल्लास र उत्सवमय वातावरणलाई थप आकर्षक बनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार