कांग्रेस खोटाङको सभापतिमा रोजन राई सर्वसम्मत निर्वाचित

खोटाङ । नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशनबाट रोजन राई जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। दिक्तेल बजारमा सम्पन्न अधिवेशनले राईको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट उपसभापतिमा खिलाराज राई (दीपक) र केशव राई सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन भएका छन्।

मुख्य निर्वाचन अधिकृत महाप्रसाद आचार्यका अनुसार अधिवेशनले जिल्ला कार्यसमितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशन कात्तिक १७ गते दिक्तेल बजारमा आयोजना गरिएको थियो। यसअघि जिल्ला अधिवेशन तयारी समितिले जिल्ला अधिवेशनसँगै स्थगित प्रदेशसभा क्षेत्रीय तथा प्रदेश अधिवेशनसमेत सोही दिन गर्ने निर्णय गरेको थियो।

नयाँ नेतृत्व सर्वसम्मत चयन भएसँगै कांग्रेस खोटाङमा सहमति र एकताको सन्देश प्रवाह भएको छ। नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच आपसी एकता कायम गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनले पदाधिकारीहरू सर्वसम्मत चयन गरेसँगै जिल्लामा पार्टीको संगठनात्मक गतिविधिलाई नयाँ ढंगले अघि बढाउने बाटो खुलेको नेपाली कांग्रेस खोटाङले जनाएको छ।

प्रतिक्रिया