एमालेमा नेतृत्व परिवर्तनको बहस निर्णायक मोडमा, पुराना विधान व्यवस्था फर्काउन कार्यदलको दबाब

काठमाडौं, नेकपा एमालेभित्र नेतृत्व र पार्टी पुनर्गठनको बहस अब विधानका पुराना प्रावधान पुनःस्थापनादेखि अध्यक्ष केपी शर्मा ओलीको पद त्यागको सुझावसम्म पुगेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको १५ सदस्यीय ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले तयार पारेको प्रतिवेदनले पार्टीभित्रको असन्तोष समाधानका लागि नेतृत्व तहबाटै ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको हो।

कार्यदलले नेतृत्व हस्तान्तरण सहज नहुँदा पार्टीभित्र अनास्था र असन्तुष्टि बढेको उल्लेख गर्दै ओलीलाई नेतृत्व हस्तान्तरणको बाटो खोल्न सुझाव दिएको छ। पार्टी नेतृत्वको कार्यशैलीबाट उत्पन्न समस्यालाई भूराजनीतिक परिस्थितिसँग मात्र जोडेर हेर्न नमिल्ने प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनमा भदौ २३ र २४ को घटनाभन्दा अघिदेखि नै नेतृत्वप्रति असन्तोष सार्वजनिक रूपमा देखिन थालेको उल्लेख गरिएको छ। प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षा व्यवस्थामै विशेष प्रबन्ध गर्नुपर्ने अवस्था सिर्जना हुनु पनि नेतृत्वप्रतिको असन्तोषको संकेतका रूपमा कार्यदलले व्याख्या गरेको छ।

त्यसपछि नेतृत्वमाथि उठेका प्रश्नलाई महाधिवेशनमार्फत सम्बोधन गर्ने प्रयास भए पनि समस्या समाधान हुन नसकेको कार्यदलको ठहर छ। अब पार्टी नेतृत्वले आधारभूत तहका कार्यकर्ताको भावना गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिइएको छ।

ओलीलाई लक्षित विधान संशोधनको प्रस्ताव

कार्यदलले एमाले विधानमा यसअघि रहेको ७० वर्षे उमेर हद र कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनःस्थापित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

यी व्यवस्था हटाउँदा पार्टीको लोकतान्त्रिकरण र क्रियाशीलतामा नकारात्मक असर परेको कार्यकर्ताको बुझाइ रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैले विधान संशोधन गरेर दुवै प्रावधान पुनःस्थापित गर्नुपर्ने अधिकांश कार्यकर्ताको राय रहेको कार्यदलको निष्कर्ष छ।

७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था ओलीलाई निरन्तर नेतृत्वमा रहन सहज हुने गरी हटाइएको आरोप पार्टीभित्र उठ्दै आएको अवस्थामा कार्यदलले ती प्रावधान पुनःस्थापनाको सुझाव दिएको हो।

कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल र भानुभक्त ढकाल छन्। आठ भौगोलिक प्रदेशका इन्चार्जहरू पनि कार्यदलका सदस्य छन्।

कार्यदलको प्रतिवेदनले एमालेभित्र नेतृत्वको विकल्प, कार्यकालको सीमा र पार्टी पुनर्गठनलाई एउटै बहसमा जोडेको छ। अब प्रतिवेदनमा समेटिएका सुझाव पार्टी नेतृत्वले कसरी ग्रहण गर्छ भन्ने विषयले एमालेको आगामी राजनीतिक दिशालाई प्रभावित गर्ने देखिएको छ।

प्रतिक्रिया