एमालेका सुहाङलाई आफ्नो पार्टीमा ल्याउन सुदन किरातीको प्रस्ताव

उदयपुर, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका सांसद सुहाङ नेम्बाङलाई पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै किरातीले सुहाङसँग संवाद गरेर उनलाई ससम्मान पार्टीमा ल्याउनुपर्ने धारणा राखेका हुन्।

किरातीले सुहाङलाई शालिन र भद्र नेताको संज्ञा दिँदै उनलाई पार्टीमा उचित जिम्मेवारी दिनुपर्ने बताए। सुहाङलाई मुख्यमन्त्री बनाउन सके श्रम संस्कृति पार्टीका लागि समेत त्यसले सकारात्मक राजनीतिक परिणाम दिने उनको दाबी छ।

उनले श्रम संस्कृति पार्टीका अध्यक्ष र वरिष्ठ नेता दुवै राई समुदायबाट रहेको प्रसंग उल्लेख गर्दै सुहाङ नेम्बाङसँग संवाद आवश्यक रहेको बताए।

सुहाङलाई पार्टीमा ल्याउन सके श्रम संस्कृति पार्टीलाई राष्ट्रिय राजनीतिमा ठूलो शक्तिका रूपमा स्थापित गर्न सहज हुने किरातीको दाबी थियो। उनले यसलाई पार्टी विस्तारसँगै सामाजिक र जातीय सन्तुलन कायम गर्ने अवसरका रूपमा समेत प्रस्तुत गरे।

‘इतिहासमा भएका गल्ती सच्याउने र जातीय सन्तुलन मिलाउने’ अवसरका रूपमा आफूले यस्तो प्रस्ताव अघि सारेको किरातीले बताए।

यसै क्रममा किरातीले आगामी दिनमा नेपालको राष्ट्रपति दलित समुदायबाट बनाउनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन्।

प्रतिक्रिया