खोटाङ — कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशक पदमा चक्रकुमार राईलाई नियुक्त गरेको छ। मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रदेश सरकारको निर्णय बमोजिम राईलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
यसअघि पनि कार्यकारी निर्देशकको रूपमा काम गरिसकेका राईले हलेसी क्षेत्रको विकास, संरक्षण तथा प्रवर्द्धनमा अनुभव हासिल गरिसकेका छन्। तत्कालीन संघीय सरकारबाट मनोनयन हुने व्यवस्थाअनुसार उनी यसअघि नियुक्त भएका थिए। तर केन्द्र सरकारमा आएको राजनीतिक परिवर्तनसँगै उनले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएका थिएनन्।
पुनः जिम्मेवारी पाएपछि राईले हलेसीलाई केवल धार्मिक स्थलको रूपमा मात्र नभई खोटाङ जिल्लाको महत्वपूर्ण आर्थिक मेरुदण्डको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार हलेसी किराँत, हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र तथा त्रिधार्मिक तपोभूमि भएकाले यसलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।
राईले हलेसी क्षेत्रको दीगो विकासका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा अन्य सरोकारवाला पक्षहरूसँग सहकार्य र बृहत् परामर्शमार्फत योजनाबद्ध रूपमा काम गरिने बताएका छन्।
उनको पुनर्नियुक्तिसँगै हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार