काठमाडौं, नेकपा (एमाले) ले पार्टीका विभिन्न तहका बैठक लगातार बोलाएको छ। पार्टीले असोज ४ गते कार्यदल र केन्द्रीय सचिवालयको बैठक तथा असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने भएको हो।
एमालेका अनुसार असोज ४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। त्यसै दिन दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ।
त्यसपछि असोज ५, ६ र ७ गते ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटीको बैठक बस्नेछ। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटी बैठकका लागि आवश्यक तयारी भइरहेको छ।
केन्द्रीय कमिटी बैठकअघि बस्ने कार्यदल र सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ। कार्यदलले तयार गर्ने प्रतिवेदन तथा सचिवालयबाट तय हुने विषय केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत हुनेछन्।
बैठकमा पार्टीको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था, निर्वाचन समीक्षा, संगठन सुदृढीकरण र आगामी कार्यदिशालगायत विषयमा छलफल हुने तयारी छ।
एमालेले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठनात्मक अवस्थाबारे आवश्यक निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाएको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार