काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले उक्त नियुक्ति कानुन र निर्धारित प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् । निवेदनमा आनी छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषय विवादित रहेको र यससम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले उनको नियुक्ति कानुनसम्मत नभएको जिकिर गरिएको छ । साथै, नियुक्ति बदर गर्न अदालतसँग माग गरिएको छ ।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको कानुनी आधारमाथि प्रश्न उठाउँदै यसअघि पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । पटक–पटक खबरदारी गर्दा पनि सरकारले बेवास्ता गरेपछि न्यायिक उपचारका लागि अदालत जानुपरेको उनले बताए ।
सरकारले डोल्मालाई दलबलसहित लुम्बिनी विकास कोषमा उपस्थित गराई पदभार ग्रहण गर्ने वातावरण बनाएको भन्दै अभियानले असन्तुष्टि व्यक्त गरेको छ ।
नियुक्ति प्रक्रिया कानुनअनुसार भए–नभएको न्यायिक परीक्षण गराउन तथा विधिको शासन कायम गर्न रिट दायर गरिएको अभियानले जनाएको छ । उक्त रिटमाथि सुनुवाइका लागि भोलि ९ गतेका लागि पेशी तोकिएको अभियानको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार