रविसँग निरन्तर संवादमा रहेको प्रचण्डको दाबी, ‘मेरो गुन तिर्न बाँकी छ’

काठमाडौं, साउन २६ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आफ्नो निरन्तर संवाद भइरहेको बताएका छन्। उनले लामिछानेमा प्रधानमन्त्री वालेन्द्र शाहको तुलनामा बढी राजनीतिक परिपक्वता देखिएको टिप्पणीसमेत गरेका छन्।

सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा रहेका लामिछानेसहित सभामुख डोलप्रसाद अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग निरन्तर संवाद भइरहेको बताए।

लामिछानेसँग आफ्नो पुरानो राजनीतिक सहकार्य र व्यक्तिगत संवादका कारण उनलाई बुझ्न आफूलाई सहज रहेको प्रचण्डको भनाइ थियो। उनले कतिपय विषयमा आफूहरूबीच सल्लाहसमेत हुने गरेको बताए।

प्रचण्डले लामिछानेले आफूले गरेको सहयोगको ‘गुन तिर्न बाँकी’ रहेको दाबी गरे। आफू प्रधानमन्त्री हुँदा लामिछानेको पक्षमा संसद् र संसद् बाहिर बोलेको तथा जेलमै पुगेर भेटेको प्रसंग उल्लेख गर्दै उनले त्यसलाई लामिछानेले सम्झिरहेको हुनुपर्ने बताए।

“रविजीले मेरो गुन तिर्न बाँकी छ,” प्रचण्डले भने, “उनको लागि त मैले धेरै डिफेन्स गरेको छु नि त सदनमा, सदनबाहिर । जेलमा गएर भेटेको छु ।”

लामिछानेको राजनीतिक परिपक्वताबारे भने प्रचण्डले प्रधानमन्त्री शाहभन्दा उनी अगाडि रहेको टिप्पणी गरे। “कम्पेरिटिभली पोलिटिकल म्याचुरिटी रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ,” उनले भने।

यसैबीच प्रचण्डले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै सरकार अपरिपक्व र विचारविहीन रहेको आरोप लगाए। सरकार ‘समुद्रमा कम्पास हराएको जहाज’ जस्तो भएकाले धेरै समय टिक्न नसक्ने उनको दाबी थियो।

रास्वपाभित्र समेत आन्तरिक अन्तरविरोध देखिन थालेको प्रचण्डले बताए। पार्टीकै केही नेताले वर्तमान सरकार दसैँसम्म पनि नटिक्ने बताउन थालेको आफूले सुनेको उनको भनाइ थियो।

प्रतिक्रिया